जर्मनीमा उत्तराधिकारीको अभावमा बन्द हुँदैछन् कम्पनीहरू

जर्मनीमा उत्तराधिकारीको अभावमा बन्द हुँदैछन् कम्पनीहरू


ग्लोब नेपाल
324
Shares

जर्मनीका रुडोल्फ किसलिङ अब अवकाश लिन चाहन्छन् । उनले वर्षौको मेहनतपछि हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङको व्यापार खडा गरे । तर अहिले उनी यस्तो समस्याको सामना गरिरहेका छन् जुन उनले पहिले कहिल्यै भोगेका थिएनन् ।

६२ वर्षीय किसलिङ ती हजारौं व्यापारीहरूमध्ये एक हुन् जो उत्तराधिकारी नभेटिँदा आफ्नो व्यापार बन्द हुने जोखिममा छन् । यो अवस्था त्यतिबेला आइपरेको छ जब जर्मनीमा एक वर्षमा एक लाखभन्दा बढी रोजगारी हराइसकेका छन् । जर्मनीका करिब ९९ प्रतिशत कम्पनीहरू साना तथा मझौला छन्, जसलाई सामूहिक रूपमा ‘मिटेलश्टाण्ड’ वा एसएमइ भनिन्छ ।

यी कम्पनीहरू जर्मन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । एसएमइहरूले संयुक्त रूपमा जर्मनीको कुल आर्थिक उत्पादनको आधाभन्दा बढी योगदान गर्छन् । लगभग ६० प्रतिशत रोजगारी यिनैबाट प्राप्त हुन्छ र निजी लगानीको इञ्जिन पनि यिनैलाई मानिन्छ ।

वृद्ध मालिकहरूको चिन्ता
यीमध्ये हजारौं कम्पनीहरू यस्ता छन् जसका मालिक वृद्ध भइसकेका छन् र अब कामबाट अवकाश लिन चाहन्छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र यसबेला गम्भीर संकटमा परेको छ । अहिले जर्मनी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा लामो आर्थिक मन्दी भोगिरहेको छ ।

किसलिङले समाचार संस्था रोयटर्ससँग भने, ‘मेरो लागि कोही छैन । मेरो एउटा छोरा छ तर उसले यो काम गर्न सक्दैन, उसले अर्कै पेशा रोजेको छ । केही कर्मचारीहरूमा चासो होला तर उनीहरू जिम्मेवारी लिन डराउँछन ।’

सरकारी विकास बैंक केएफडब्लुको एक सर्वे अनुसार, करिब २ लाख ३१ हजार कम्पनीहरूले यस वर्षको अन्त्यसम्म बन्द गर्ने योजना बनाइरहेका छन्, जुन संख्या गत वर्षको तुलनामा ६७ हजार ५ सयले बढी हो ।

उमेरको प्रभाव
यस निर्णयको मुख्य कारण भनेकै उमेर हो । तथ्यांक अनुसार करिब आधा मिटेलश्टाण्ड मालिकहरूको उमेर ५५ वर्षभन्दा बढी छ । १० वर्ष अघिको तुलनामा यो २० प्रतिशतले बढेको हो । जर्मनीको समग्र जनसंख्याको तुलनामा ती व्यवसायीहरू बढी छिटो बुढा भइरहेका छन् । उनीहरूमध्ये ३९ प्रतिशतको उमेर ६० वर्षभन्दा बढी छ, जबकि समग्र जनसंख्यामा ६० वर्षभन्दा बढी उमेरका मानिस ३० प्रतिशत मात्र छन् ।

केएफडब्लुका मिटेलश्टाण्ड विशेषज्ञ मिशाएल श्वात्र्स भन्छन, ‘हामीले जबदेखि यो निगरानी सुरु गयौं, तबदेखि कहिल्यै यति धेरै साना तथा मझौला व्यवसायहरूले व्यवसाय बन्द गर्ने योजना बनाएका थिएनन् ।’

आजीवनको मेहनत, ऊर्जा र पैसाले कम्पनी खडा गरे, तर अब थाकेको शरीर लिएर उत्तराधिकारी छैनन् । जर्मनीमा सयौं कम्पनीहरू योग्य उत्तराधिकारीको खोजीमा छन् ।

उत्तराधिकारीको अभाव रोजगारीका लागि मात्र नभई देशको आर्थिक अवस्थामै ठूलो असर पार्दैछ । सरकारले पूर्वाधार विकास, कर कटौती र अन्य आकर्षक योजनामार्फत लगानी बढाउने प्रयास गरिरहेको छ । तर व्यवसायीहरू भविष्यमा नेतृत्व को हुनेछ भन्ने अन्योलका कारण लगानी गर्न तयार देखिंदैनन्

आईएनजीका ग्लोबल हेड कास्र्टेन ब्रेन्स्कीले केही अध्ययनको हवाला दिँदै भने, विगत दशकमा जर्मनीमा लगानी ४० देखि ६० अर्ब डलरले घटेको छ । उनले भने, ‘लगानी रोकिएको छ किनकि व्यवसायीहरूले उत्तराधिकार योजनाबद्ध गर्न सकेका छैनन् ।’

फेब्रुअरीको आम चुनावअघि मिटेलश्टाण्डको अर्को संगठन बिभिएमडब्लुले उत्तराधिकारी समस्याको समाधान खोज्न केही सुझाव दिएको थियो । त्यसमा व्यापार हस्तान्तरणमा कर छुट र वित्तीय अवस्था सुधारका उपायहरू थिए ।

बिभिएमडब्लु अध्यक्ष बेनो बाकी भन्छन, ‘नयाँ सरकारको गठबन्धन सर्तअनुसार यो मुद्दामा खासै योजना बनेको छैन । ‘बिजनेस सक्सेसन’ भन्ने शब्द नै छैन ।’

अर्थ मन्त्रालयका प्रवक्ताले भने सरकार विभिन्न माध्यमबाट उत्तराधिकारी प्रक्रियामा सहयोग गरिरहेको बताएका छन्, जस्तै नेक्स चेञ्ज डट ओरजी जस्तो वेबसाइट जसले व्यवसायीहरूलाई सम्भावित क्रेतासँग भेट गराउँछ र कम ब्याजमा ऋण उपलब्ध गराउँछ ।

तर भित्रैबाट योग्य उत्तराधिकारी पाउन गाह्रो हुँदै गएको छ, विशेष गरेर जब ठूला कम्पनीहरूले ठूलो तलब सुविधा दिने गर्छन् जर्मनी पहिले नै दक्ष जनशक्तिको अभाव भोगिरहेको देश हो ।

ठूला कम्पनीहरूमा पनि यसको असर परेको छ । अधिकांश ठूला कम्पनीहरू साना कम्पनीहरूबाट सामग्री लिन्छन र ती साना कम्पनीहरूलाई बदल्ने विकल्प पाउनु सजिलो छैन । उत्तराधिकारीको अभावले भावनात्मक पक्षलाई समेत जटिल बनाउँछ— धेरै मानिसहरूले आफ्नो जीवन लगानी गरेर ती कम्पनीहरू खडा गरेका हुन् ।

सक्सेसन विशेषज्ञ होल्कर वासरमान भन्छन्, ‘मिटेलश्टाण्ड व्यापारमा कम्तीमा दुई तिहाई बिक्रीका मामिलामा मनोविज्ञानको भूमिका हुन्छ । धेरै मालिकहरूका लागि कम्पनी उनीहरूको शरीरको भागजस्तै हुन्छ, बेच्नु भनेको हात काटेजस्तै लाग्छ ।’

उमेरको अन्तर
कम्पनी बेच्ने मालिकहरूको औसत उमेर गत वर्ष ६१.५ वर्षबाट बढेर ६३ वर्ष पुगेको छ । जबकि नयाँ नेतृत्व सम्हाल्नेहरूको औसत उमेर अझै ३८ वर्षमै अडिएको छ । मार्सेल क्रिब ती मध्ये एक हुन, जो २५ वर्षको उमेरमा प्रिटियम एसोसियटको प्रबन्ध निर्देशक बने । यो एसएमइ सन् २००३ मा सुरु भएको थियो । उनी संस्थापकसँग एउटा प्रोजेक्टमा सहभागी भएका थिए ।

क्रिब भन्छन, ‘उनीहरूले सही समयमा मलाई सोधे, के म उनको स्थान लिन सक्छु ?’ उनले थपे, ‘धेरै युवाहरू निश्चित तलब र भविष्यको सुरक्षालाई प्राथमिकता दिन्छन, आत्मनिर्भर व्यवसायको अनिश्चितता भन्दा ।’

पारिवारिक व्यवसायमा संकट
धेरै मिटेलश्टाण्ड कम्पनीहरू परिवारबाट सञ्चालित छन् तर अहिले थोरै मात्र सन्तान त्यस्ता जिम्मेवारी लिन इच्छुक छन् । एक सर्वे अनुसार ४२ प्रतिशत पारिवारिक व्यवसायमा उत्तराधिकारी नै छैन ।

याकब फन डेयर डेकेन ३० वर्षका थिए र उनका बुवा ६८ वर्षका, जब याकबले पारिवारिक कृषि व्यापार सम्हाल्न थाले । याकब भन्छन, ‘१४ वर्षको उमेरदेखि नै यसबारे कुराकानी हुन्थ्यो ।’ उनले कृषि अर्थशास्त्र अध्ययन गरेका छन् र एक फिनटेक कम्पनीमा काम गर्छन् ।

उनले भने, ‘कृषिमा तपाईंले एउटा पुस्ताका लागि फार्म पाउनुहुन्छ जुन तपाईंले अर्को पुस्तालाई हस्तान्तरण गर्नु हुन्छ । तपाईंसँग ३० वर्ष जति समय हुन्छ, जसमा तपाईंले फार्मलाई अघि बढाउनु पर्छ र सुनिश्चित गर्नु पर्छ कि यो भविष्यमा पनि कायम रहोस ।’

साना व्यवसायको समाधान कहाँ ?
प्राइवेट इक्विटीमार्फत कम्पनी अरूलाई हस्तान्तरण गर्ने उपाय प्रायः ठूला कम्पनीहरूका लागि उपयुक्त हुन्छ । १० देखि २० कर्मचारी भएका साना कम्पनीहरूको लागि अझै स्पष्ट समाधान देखिएको छैन । यस्तो अवस्थामा साना तथा मझौला जर्मन कम्पनीहरूको समस्या दिनप्रतिदिन जटिल हुँदै गइरहेको छ ।

  • डिडब्लुबाट