इजरायली रक्षामन्त्रीकाे चेतावनी : खामेनेईलाई अब अस्तित्वमा रहन दिन सकिँदैन

इजरायली रक्षामन्त्रीकाे चेतावनी : खामेनेईलाई अब अस्तित्वमा रहन दिन सकिँदैन



काठमाडौं । इरानले इजरायलको दक्षिणी भागमा रहेको बेरशेबा शहरको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इरानको मिसाइल आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले यो आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानको यो आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

इरानले नागरिक क्षेत्रलाई निशाना बनाइरहेको र त्यसमध्ये अस्पतालसमेत रहेको इजरायलले बताएको छ । इरानले भने मिसाइल आक्रमणको निशाना अस्पताल नभएको बताएको छ । इरानले आफ्नो निशाना बेरशेबाको सोरोका अस्पताल नजिकै रहेको सैन्य अड्डा रहेको बताएको छ ।

यसैबीच इरानी क्षेप्यास्त्र आक्रमणमा सोकोरा अस्पतालमा क्षति पुगेपछि इजरायलका रक्षामन्त्रीले इरानका सर्वोच्च नेतालाई अब अस्तित्वमा रहन दिन सकिँदैन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई अस्तित्वमा रहन दिन नसकिने बताएका हुन् ।

इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेकाे तर अन्तिम निर्णय भने बाँकी रहेको बीबीसीले जनाएको छ । यस्तै अमेरिकाले हस्तक्षेप गरेमा अपूरणीय क्षति हुने इरानी सर्वाेच्च नेताले चेतावनी दिएका छन् ।

गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गरेपछि इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गरिरहेको छ ।