आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरलाई बुझायो ज्ञापनपत्र

आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरलाई बुझायो ज्ञापनपत्र



काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आज (शुक्रबार) महानगर कार्यालय पुगेर संघका संयोजक कालबहादुर बिकको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो ।

सुकुम्बासी एवं अब्यवस्थित् बसोबासीहरुको समस्याप्रति गम्भीर भई भूमि समस्या समाधान आयोगले माग गरेअनुसार निवेदन तत्काल संकलन सुरु गर्न माग गरिएको छ । महानगर सच्चिनुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष बिकले सुकुम्बासीको डाटा संकलन गरिदिन पहल गरिदिनुपर्यो भनेर आफूहरुले ज्ञापनपत्र बुझाएको प्रतिक्रिया दिए ।

उनले भने,‘काठमाडौं महानगरले छिटोभन्दा छिटो यसको निकास दिनुपर्छ । गरिब जनता, सुकुम्बासी र निमुखाप्रति महानगरले अब दोहोरो चरित्र नदेखाओस । अहिले पनि दुई वटा पत्र सार्वजनिक भएका छन् । एउटा पत्रले गर्ने भन्छ, अर्को पत्रले नगर्ने भनेको छ । यही भएर हामीले ध्यानाकार्षण गराएका छौं ।’

सुकुम्बासीहरुको समस्यासंग काठमाडौं महानगरका मेयर बालेन शाहले खेलवाड गरिरहेको संघका संयोजक बिकले बताए । सुकुम्बासीको समस्या समाधान गर्नुको साटो महानगरले मनोमानी गरिरहेको आरोप लगाउदै उनले महानगरको यस्तो हर्कतको विरुद्धमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।