हिजो आइतबार अमेरिकी बमवर्षक विमानहरूले इरानमाथि गरेको आक्रमणको रूसले कडा निन्दा गरेको छ । यसलाई संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको छ । रूसी विदेश मन्त्रालयले भन्यो, ‘मिसाइल र बमले सार्वभौम देशमाथि आक्रमण गर्नु गैरजिम्मेवारपूर्ण हो ।’
यो आक्रमणलाई मध्यनजर गरेर इरान अब विश्वमा आफ्ना साथीको खोजिमा निस्केको छ । यतिबेला इरानी विदेशमन्त्री रुस पुगेका छन् । रुसी राष्ट्रपतिले इरानलाई सहयोग गर्न तयार रहेको समाचारहरु बाहिर आएका छन् ।
पछिल्लो अमेरिकी आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अरागची मस्को गएका हुन् । उनले रुसी राष्ट्रपति पुटिनसँग भेट गरेका छन् । उनीहरुको भेटपछि अमेरिकामाथि आक्रमण गरे रुसले इरानलाई सहयोग गर्न तयार रहेको समाचार बाहिर आएको छ । तीन वर्षदेखि युद्धमा फसेका रुसी राष्ट्रपति पुटिनको यो भनाइले ठूलो अर्थ राख्ने जानकारहरु बताउँछन् । विदेशमन्त्री अब्बासको यो भ्रमणले दुई देशहरू बीचको गहिरो रणनीतिक सम्बन्ध मात्र देखाउँदैन, इरानले अब रुसबाट सैन्य सहयोग लिनसक्ने संकेत पनि गर्दछ ।

विशेष गरी उन्नत वायु रक्षा प्रणाली इरानलाई चाहिएको छ । अमेरिकाको ‘अपरेशन मिडनाइट ह्यामर’ ले इरानमा फोर्डी, नातान्ज र इस्फहान जस्ता महत्वपूर्ण आणविक भट्टीलाई लक्षित गरेको थियो । त्यसपछि इरानले अन्तर्राष्ट्रिय मञ्चमा समर्थन जुटाउने प्रयास थालेको हो ।
हालैका वर्षहरूमा इरान र रुसबीचको सहकार्य बढेको छ । दुवै देशले पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेका छन्, जसले उनीहरूलाई ड्रोन उत्पादन, उपग्रह प्रविधि र आणविक ऊर्जा जस्ता क्षेत्रमा एकअर्काको नजिक बनाएको छ। २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि इरानले मस्कोलाई शाहेद ड्रोनहरू आपूर्ति गरेको थियो, जसको बदलामा रुसले इरानलाई १० करोड डलरभन्दा बढीको सुन दिएको बताइएको छ ।
के इरानले माग्ला एस–४००
जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गर्यो । आक्रमणपछि पुटिनले प्रतिक्रिया दिँदै भने– इरानले कुनै सहयोग मागेको छैन । इजरायल र अमेरिकाको आक्रमणले इरानको वायु रक्षा प्रणालीलाई उजागर गर्यो । एस–३०० वायु रक्षा प्रणालीको कमजोरीहरू बाहिर आएका छन् ।
यो धेरै पुरानो भइसकेको छ । इजरायली आक्रमणबाट यो रक्षा प्रणाली नराम्ररी नष्ट भएको छ । यो विश्वास गरिन्छ कि अब्बासले रूसबाट उन्नत एस–४०० प्रतिरक्षा प्रणाली माग्न सक्छन् । यो त्यही प्रतिरक्षा प्रणाली हो, जुन पछिल्लो समयको भरपर्दो प्रतिरक्षा प्रणाली ठानिन्छ । यदि रूसले इरानलाई यो हतियार दियो भने इजरायलको लागि अवस्था कठिन हुन सक्छ ।
इजरायलले मन लागेको बेला इरानको हवाई क्षेत्रमा प्रवेश गर्छ र आक्रमण गर्छ । तर यदि उसले एस–४०० एफ पायो भने, इजरायलले इरानको सीमा पार गर्ने आँट पनि गर्ने छैन ।
प्रतिक्रिया