गृहमन्त्री लेखक: लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ

गृहमन्त्री लेखक: लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ



काठमाडौँ । लागूऔषध दुरुपयोग र अवैध कारोबार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गरिने बताएका छन्।

उनका अनुसार, आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयको मातहतमा लागूऔषध नियन्त्रण विभाग स्थापनाको योजना रहेको छ। उनले सरकारको प्राथमिकतामा लागूऔषध नियन्त्रण रहेको उल्लेख गर्दै, यसको रोकथामका लागि समाजदेखि विद्यालयसम्म चेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।

मन्त्री लेखकका अनुसार लागूऔषध दुर्व्यसनले सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनामा वृद्धि भएको छ। यस्तो समस्याको समाधानको लागि व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो।

साथै, उनले सरकारको पहल मात्र पर्याप्त नभएको भन्दै समाज, टोल र समुदायको सहकार्यमा मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने बताए।

उनले भने–‘एक लाख ३४ हजार जना लागूऔषध सेवन कर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुँदैछ।मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठूलो संख्यामा लागूऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।’