इरानका सर्वोच्च नेता खामेनेई एक हप्तादेखि बेपत्ता

इरानका सर्वोच्च नेता खामेनेई एक हप्तादेखि बेपत्ता



काठमाडौं । इजरायलसँग युद्धविराम लागू भएपछि पनि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन् ।

खामेनेई एक सातादेखि सार्वजनिक रूपमा नदेखिएपछि अनेक अड्कलबाजी सुरु भएको केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार खामेनेईलाई पछिल्लो करिब एक सातादेखि सार्वजनिक रूपमा देखिएको छैन भने उनका कुनै वक्तव्यसमेत बाहिर आएका छैनन् ।

इरान र इजरायलबीच युद्धविरामलगत्तै पनि सर्वोच्च नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । बुधबार कतार र यूएईसँग राष्ट्रपति मसुद पेजेशकियानले छलफल गरेका थिए । १३ जुनमा इजरायलले हमला सुरु गरेपछि खामेनेई कुनै गोप्य बंकरमा लुकेको बताइएको थियो । तर, अब युद्धविराम पछि पनि सार्वजनिक नभएपछि आशंका सुरु भएको हो ।

युद्धकै बीच खामेनेईले तीन जनालाई आफ्नो उत्तराधिकारी चयन गरेको रिपोर्टसमेत आएको थियो । यसअघि गत वर्ष नै उनले आफ्ना छोरा मोजतावालाई उत्तराधिकारी घोषणा गरेको खबर आएको थियो । तर, उनले यसपटक उत्तराधिकारीका लागि छानेका भनिएका तीन जनामा उनका छोराको नाम थिएन ।

अमेरिका र इजरायल दुवैले युद्धका क्रममा खामेनेईको हत्या गर्नेसम्मका धम्की दिएका थिए । इजरायली हमलाका क्रममा इरानका वैज्ञानिक र सुरक्षा अधिकारीको ठूलो पंक्ति मारिएको छ ।