कर्णाली विकास बैंक घोटाला : तत्कालीन अध्यक्ष मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटाला : तत्कालीन अध्यक्ष मिश्र पक्राउ



काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपालगञ्जबाट बुधबार पक्राउ परेका मिश्रलाई काठमाडौं ल्याइँदै छ ।

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्रउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म ब‌ैंकको अध्यक्ष थिए ।

उनी एमाले केन्द्रीय सदस्य समेत हुन् ।

मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।