आज चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं । अहिले मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो १२ घण्टामा सङ्खुवासभामा सबैभन्दा धेरै ८६ दशलमव २ मिलिमिटर पानी परेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् दाहालले बताए ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।