इजरायली हमलामा इरानी राष्ट्रपति पेजेस्कियन घाइते

इजरायली हमलामा इरानी राष्ट्रपति पेजेस्कियन घाइते



काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियन गत महिना इजरायलले इरानमा गरेको हमलाका क्रममा सामान्य घाइते भएको खबर बाहिर आएको छ ।

इरानको फार्स समाचार एजेन्सीले जुन १६ मा तेहरानस्थित एक गोप्य भूमिगत स्थानमा छ वटा बमले निशाना बनाएको उल्लेख गरेको छ ।

उक्त समयमा पेजेस्कियन सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी भइरहेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।

फार्सका अनुसार, बम आक्रमणपछि पेजेस्कियन र अन्य व्यक्तिहरू आपतकालीन सुरुङ हुँदै भाग्ने क्रममा राष्ट्रपतिको खुट्टामा चोट लागेको थियो । इरानले अहिले इजरायली एजेन्टहरूको घुसपैठको अनुसन्धान गरिरहेको बताइएको छ ।

यद्यपि, फार्सको यो रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेको जनाइएको छ ।

१२ दिने युद्धका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा उत्तर-पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार आक्रमण भएको देखिएको थियो । अहिले खुलासा भएअनुसार, युद्धको चौथो दिनका हमलाहरूले तेहरानको एक गोप्य भूमिगत स्थानलाई निशाना बनाएका थिए, जहाँ इरानका शीर्ष नेताहरू त्यसबेला उपस्थित थिए ।

फार्स समाचार एजेन्सीको रिपोर्टमा इजरायली हमलाले गोप्य भूमिगत स्थानका सबै छवटा प्रवेश र निकास बिन्दुहरू, साथै भेन्टिलेसन प्रणालीलाई पनि अवरुद्ध पारेको उल्लेख छ । उक्त स्थानमा बिजुली पनि काटिएको थियो, तर पेजेस्कियन सुरक्षित स्थानमा पुग्न सफल भए ।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीपछिको इरानको शीर्ष निर्णय गर्ने निकाय हो। गत हप्ता, पेजेस्कियनले इजरायलमा आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए । इजरायली रक्षामन्त्री इजरायल काट्जले भने यो दाबी अस्वीकार गर्दै ‘शासन परिवर्तन’ युद्धको लक्ष्य नभएको बताएका थिए ।

इजरायलले युद्धको सुरुवातमै धेरै शीर्ष आईआरजीसी र सेना कमाण्डरहरूलाई सफाया गरेको थियो । इरानी नेताहरूले आफूहरू पूर्ण रूपमा अचम्मित र आक्रमणपछि कम्तिमा २४ घण्टासम्म निर्णय गर्ने क्षमतामा पक्षाघात (paralysis) भएको स्वीकार गरेका छन् ।

इजरायली अधिकारीहरूले आयोतुल्लाह खामेनी पनि निशानामा रहेको तर उनलाई सुरक्षित गोप्य स्थानमा सारिएपछि उनीहरूसँग उनको सम्पर्क टुटेको स्वीकार गरेका छन् । खामेनीलाई गोप्य राखिएको थियो ।

जुन १३ मा इजरायलले इरानको आणविक र सैन्य स्थलहरूमा आश्चर्यजनक आक्रमण सुरु गरेको थियो । इजरायलले तेहरानलाई आणविक हतियार बनाउनबाट रोक्न यो कदम चालेको बताएको छ ।

इरानले भने इजरायलमा हवाई हमला गरेर जवाफ फर्काएको थियो । इरानले आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको कुरा अस्वीकार गर्दै युरेनियमको संवर्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ ।

जुन २२ मा अमेरिकाको वायुसेना र नौसेनाले तीनवटा इरानी आणविक क्षेत्रमा हवाई र मिसाइल हमला गरेका थिए । बीबीसीबाट