काठमाडौं । गएराति देशभर कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया