बंगलादेशमा हिंसात्मक झडप, ४ जनाको मृत्यु

बंगलादेशमा हिंसात्मक झडप, ४ जनाको मृत्यु



बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) ले निकालेको र्‍यालीमका क्रममा हिंसा भड्किएको छ ।

हिंसाका क्रममा प्रहरीले गोली चलाउदा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लिगका समर्थकहरू र प्रहरीबीच झडप भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अवामी लिगका समर्थकहरूले लाठी, ढुङ्गा र इँटाले प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेको बताइएको छ । प्रदर्शनकारीहरूले प्रहरी र स्थानीय प्रशासनिक प्रमुखका गाडीहरूमा पनि तोडफोड गरेका छन् । हिंसाका घटनाका बाबजुद एनसीपीले गोपालगञ्जमा आफ्नो र्याली पूरा गरेको छ ।

नेताहरूले क्षतिग्रस्त मञ्च र तोडफोड गरिएका साउन्ड सिस्टमबाटै भाषण गरेका हुन् । घटनापछि गोपालगञ्जमा कफ्र्यू लगाइएको छ । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै घटनाको निन्दा गरेका छन् । युनुसले हिंसाका लागि हसिनाको अवामी लिग पार्टी र त्यसको विद्यार्थी संगठनलाई जिम्मेवार ठहराएको समाचारमा उल्लेख छ ।