शान्ति सुरक्षाको अवस्था सन्तोषजनक : गृहमन्त्री लेखक

शान्ति सुरक्षाको अवस्था सन्तोषजनक : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन्। शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारले नागरिकको जिउधन सुरक्षामा प्राथमिकता दिइरहेको बताएका हुन्।

गृहमन्त्रीका अनुसार गृह मन्त्रालय अपराध न्यूनीकरण, नियन्त्रण तथा अनुसन्धानमा प्रतिबद्ध छ। उनले भने, “शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न र अपराध भएमा गहिरो अनुसन्धानमार्फत दोषीलाई कारबाही गर्न गृह प्रशासन क्रियाशील छ।”

उनले पछिल्लो एक वर्षको तुलनामा शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको बताए। उनका अनुसार, पुराना मुद्दामा फरार रहेका अपराधीहरूलाई समेत हालै पक्राउ गर्न सकिएको छ, जुन गृह प्रशासनको सक्रियताको परिणाम हो।

गृहमन्त्रीले समन्वयमा आधारित अनुसन्धान प्रक्रिया गृह मन्त्रालयको प्राथमिकतामा रहेको पनि स्पष्ट पारे।