काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा बलात्कार आरोपमा पीडितले जाहेरी दिएको झन्डै १० महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले झालाई आइतबार पक्राउ गरेका हुन् ।
पीडितले दिएको उजुरीमा झाले घरमा कोही नभएको मौका छोपेर आफूमाथि ४ जेठ २०८१ मा पटकपटक बलात्कार गरेको उल्लेख छ । घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको आरोप छ ।
अहिराज ७ फागुन २०७७ देखि ३२ साउन २०७८ सम्म मधेस प्रदेश प्रमुख थिए । उनलाई केपी ओलीले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेला प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा पीडितका तर्फबाट गत ३ माघमा जाहेरी दर्ता भएपछि झा फरार थिए । ती पीडित युवतीको गत कार्तिकमै जाहेरी दिन खोजेकी थिइन । तर प्रहरीले जाहेरी लिन मानेन । अदालतबाट अनुमति लिन ती युवतीले थप ६ महिना कुर्नुपरेको थियो । प्रहरीले जिल्ला अदालतबाट ढिला गरी २५ चैतमा मात्र पक्राउ अनुमति लिएको थियो ।
प्रहरीले जाहेरी लिन नमानेपछि पीडितले २८ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मा जाहेरी दिइन् । सरकारी वकिल कार्यालयले ३० कात्तिकमै उजुरी दर्ता गर्न जिल्ला प्रहरी परिसरमा पत्राचार गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले झालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।


प्रतिक्रिया