वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राज्य अमेरिका जापानसँग ‘विशाल’ व्यापार सम्झौतामा सहमत भएको र यसमा जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने बताएका छन् ।
ट्रम्पले आफ्नो विश्वव्यापी व्यापारिक आक्रमण सुरु गरेपछि दुवै मुलुक महिनौँदेखि वार्तामा बाँधिएका छन् । वार्तामा महत्त्वपूर्ण जापानी निर्यातका रूपमा रहेको स्टिल र अटोमोबाइलमा लक्षित भन्सार शुल्कहरू विशेष बाधाका रूपमा देखिएका छन् ।
यसअघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्ट १ देखि २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए ।
“हामीले भर्खरै जापानसँग ठूलो सम्झौता सम्पन्न गर्यौँ, सायद अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा घोषणा गरे, “सम्झौता अन्तर्गत जापानले मेरो निर्देशनमा संयुक्त राज्य अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ, जसले ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।”
उहाँले असामान्य लगानी योजनामा थप विवरणहरू प्रदान गर्नुभएन तर यो सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्ने दाबी गरे ।
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले टिप्पणी गर्नुअघि सम्झौताको जाँच गर्न आवश्यक रहेको बताए ।
“वार्ताको नतिजाका बारेमा के गर्ने भन्नेबारे हामीले वार्ता र सम्झौताको विवरणहरू सावधानीपूर्वक जाँच नगरेसम्म म यसमा छलफल गर्न सक्दिन”, इशिबाले वासिङ्टनमा ट्रम्पको घोषणापछि टोकियोमा पत्रकारहरूलाई भने ।


प्रतिक्रिया