काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी पुलको उद्घाटन, वडा नम्बर ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन सभालाई सम्बोधन गर्ने जाने क्रममा प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रकाे अवलाेकन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजाको रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ । यसैगरी उनले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
पानीकाे अभाव भएपछि मधेशमा धान राेपाइँ अहिलेसम्म ५० प्रतिशत पनि हुन सकेकाे छैन ।
प्रधानमन्त्रीसँगै भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम राेजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायतले पनि अवलोकन गरेका हुन् ।


प्रतिक्रिया