काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बागमतीका सभापति समेत रहेका बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।
यसअघि कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका थिए । संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएपछि उनीहरूको हस्ताक्षरसहित संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए ।
लामाविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित नभएको एक सांसदले जानकारी दिएका छन् ।
अब दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने हुन्छ ।


प्रतिक्रिया