‘एआई’ नियमनमा तत्काल विश्वव्यापी धारणा आवश्यक : राष्ट्रसंघ प्रविधि प्रमुख

‘एआई’ नियमनमा तत्काल विश्वव्यापी धारणा आवश्यक : राष्ट्रसंघ प्रविधि प्रमुख



काठमाडौं । संयुक्त राष्ट्रसंघका उच्च प्रविधि प्रमुखले कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) को नियमनका लागि विश्व समुदायले तत्काल विश्वव्यापी दृष्टिकोण खोज्नुपर्ने बताएका छन् ।

तीव्र गतिमा अघि बढिरहेको प्रविधिले ठूलो सङ्ख्यामा रोजगारी गुम्ने डर, डीपफेक र गलत सूचनाको फैलावट र समाजमा यसको प्रयोगले पार्ने नकारात्मक प्रभाव र जोखिमका बारेमा चिन्ता बढ्दै जाँदा राष्ट्रसंको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का प्रमुख डोरिन बोगदान–मार्टिनले नियमन मुख्य रहेकोप्रति जोड दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । एएफपीसँग कुरा गर्दै उनले एआईले वास्तवमै मानवतालाई फाइदा पुर्‍याउन सक्ने विश्वास पनि व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका एआईमा चीनभन्दा अगाडि रहेको पुष्टि गर्न यसै हप्ता कम नियमन गर्ने आक्रामक रणनीति सार्वजनिक गरेपछि राष्ट्रसङ्घका प्रविधि प्रमुखको यो टिप्पणी आएको हो । उनले ८५ प्रतिशत देशसँग अझै पनि एआई नीति वा रणनीति नभएको बताएका छन् ।

राष्ट्रसंघीय यस निकायले एआईमाथि कति बढी नियमन र कति कम नियमन आवश्यक छ भनेर पत्ता लगाउने प्रयास गरिरहेको खबरमा उल्लेख छ ।