सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन



काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको हायु जातिका एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएको हो ।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको हो । प्रहरीका अनुसार, १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको छ ।

एसपी सुवेदीका अनुसार, केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका छ । उनले भने, ‘बाढी, पहिरो वा अन्य कुनै कारणले होइन । तर, घर छाडेर अन्यत्र गएकोजस्तो देखिन्छ । हामी खोजिरहेका छौँ ।’

१६ जनामध्ये एक जनाको नम्बर रामेछापमा सक्रिय भएको खुलेको छ । सिन्धुली प्रहरी र रामेछाप प्रहरीले उनीहरूको खोजी तीव्र पारेका छन् ।