आमा, ६ छोरा र पाँच छोरीसहित एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता

आमा, ६ छोरा र पाँच छोरीसहित एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता

सिन्धुलीकाे गोलन्जोरबाट हराएको परिवार खोज्न रामेछापको हायु बस्तीमा पनि प्रहरी परिचालन



सिन्धुली । सिन्धुलीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास विप्परकटेरीमा बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् ।

सम्पर्कविहीन हुनेहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उहाँका छ भाइ छोरा, पाँच बहिनी छोरी, बुहारी, जेठो ज्वाइँ र नाति नातिनी रहेका स्थानीयले बताएका छन् । उनीहरूले लोपोन्मुख सामाजिक सुरक्षा भत्ता एक लाख ८० हजार रुपियाँ बैंकबाट झिक्न बिहीबार नै वडा कार्यालयबाट सिफारिस लिएका थिए ।

हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही चार हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

वडा कार्यालयका अनुसार सम्पर्कविहीन रहेकाहरूमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला, २३ वर्षीया कोमलमाया( बुहारी), २२ वर्षीया उषा, १९ वर्षीया सुजता, २१ वर्षीया अस्मिता, २९ वर्षीय राजु जेठो छोरा, र माइलो छोरा हिमाल रहेका छन् ।

त्यसै गरी १६ वर्षीय लालबहादुर, १४ वर्षीय वेगबहादुर, ११ वर्षीय लक्ष्मण, १२ वर्षीय सुवर्ण, १० वर्षीय ओमकुमारी, ४ वर्षीय रियासा र १ वर्षीय अर्जुन हायु रहेका छन् । उर्मिला हायूका श्रीमान् सने हायू भने तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिए ।

उर्मिला हायुको परिवारमा १८ जना सदस्य थिए। एक बुहारी विदेश र एक छोरी काठमाडौंमा बस्दै आएका छन् ।

एकान्तमा रहेको घरमा सोमबार प्रहरी सहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । अरू बस्तीभन्दा टाढा एकान्तमा उनीहरूको घर रहकाले कहिलेदेखि उनीहरू हराएको भन्ने एकिन् नभएको प्रहरीले बताएकाे छ ।

जस्तापाताले छाएको मुल घरको पालिमा खरले छाएको भान्साकोठा थियो। आगलागीले भान्साकोठा जलेको देखिएकाे छ ।

रामेछापतर्फ गएको आशंकामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको छ । रामेछाप तर्फ आएको हुनसक्ने आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ ।

उनीहरूको परिवारका सदस्यहरूले मोबाइल प्रयोग गर्ने गरे पनि सबैको मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

श्रीमानको मृत्युपछि उर्मिका परिवार ऋणमा डुबेको, बैंक तथा वित्तीय संस्थाका मानिसहरू ऋण उठाउन पटक-पटक घरमा पुगेकाे पत्ता लागेकाे वडाध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।