काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आफूविरूद्ध मन्त्रीहरू र नेताहरूले प्रपञ्च गरेको आरोप लगाएका छन् ।
आफूले सहमतिमै लैजाने प्रयास गरे पनि मन्त्रीहरू र नेताहरूले भित्रभित्र प्रपञ्च गरेको देखिएको उनको भनाइ छ ।
मंगलबार हेटौंडामा बसेको संसदीय दल बैठकमा दल नेता तामाङका पक्ष र विपक्षमा रहेका सांसदहरूको मतविभाजन गरिएको थियो ।
लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना उभिए । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
बागमती कांग्रेसमा अहिले संसदीय दल नेता रिक्त भएको अवस्था छ । त्यसका लागि भोलि निर्वाचन हुनेछ ।
मुख्यमन्त्री तामाङ नै दल नेता उठ्छन् कि उनको पक्षबाट अरू कोही सांसदलाई उम्मेदवार बनाउँछन् यकिन छैन । तर अर्को पक्षबाट भने ईन्द्र बानियाँ संसदीय दल नेताको प्रतिस्पर्धी हुन् ।
दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीबाट राजीनामा नदिने बताए ।
‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन,’ उनले भने, ‘अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्न ।’
संसदीय दल र सरकार फरक विषय भएको उनले बताए । ‘दल नेता नहुँदैमा मुख्यमन्त्रीबाट हटाउन सक्ने व्यवस्था छैन,’ उनले भने ।
उनले भने, ‘सबैलाई मिलाएर अघि बढौँ भनेको थिएँ, तर विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मेरै मन्त्रीहरू पनि त्यसको हिस्सा रहेछन् ।’
उनले पार्टीभित्रका नेताहरू लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भोलिको प्रक्रियामा आफैँले सहभागिता जनाउने बताए ।
‘लोकतान्त्रिक प्रक्रियामा जाने हो भने जाने हो । मत विभाजन प्रक्रियामा गइयो, त्यसमा मेरो पक्षमा १५ मत आयो, विपक्षमा २२ मत । म संसदीय दलको नेता अब रहिनँ, तर सरकारबाट हट्नुपर्ने आधार छैन’, लामाले भने ।
कांग्रेसभित्रको यो आन्तरिक विभाजनसँगै बागमती प्रदेश सरकार नेतृत्वमा फेरबदलको सम्भावना बलियो बनेको छ । लामाले तत्काल राजीनामा नदिने अडान राखे पनि पार्टीभित्रैबाट बानियाँको पक्षमा २२ सांसद उभिएकाले नयाँ सरकार गठनको बाटो खुलेको छ ।


प्रतिक्रिया