काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू संविधानअनुसार चल्ने बताए । उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’
उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को (२) अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको तर्क छ । संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने उनले बताए ।
सबैले स्थिर सरकार चाहेकाले आफू नेतृत्वको सरकार अहिले नढल्ने उनकाे दाबी छ ।
१३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए ।
लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । संसदीय दलको नेतामा बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री लामाले १४ मत मात्र पाए ।


प्रतिक्रिया