संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल निर्वाचित



न्यूयोर्क । नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबिच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे ले नेतृत्व हस्तान्तरणको प्रतीक स्वरूप ग्याभल (हथौडा) अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।

आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले आफ्नो कार्यकाललाई स्पष्ट दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले इकोसकलाई संवादमूलक प्लेटफर्म मात्र नभई क्रियाशील र परिणाममुखी कार्यान्वयनको उत्प्रेरक बनाउने अठोट व्यक्त गरे ।

“एजेन्डाहरु अरु राम्रोसँग कार्यान्वयन गर्नु विकल्प होइन, आवश्यकताकै विषय हो,” थापाले भने । उनले बहुपक्षीय प्रणालीप्रति विश्वास पुनःस्थापना गर्नु, कमजोर वर्गलाई सशक्त बनाउनु र ठोस विकास परिणामहरू सुनिश्चित गर्नु आजको आवश्यकता भएको पनि बताए ।

नेपालको अध्यक्षतामा इकोसकका पाँच प्राथमिक क्षेत्रहरू कृषि–खाद्य प्रणालीको रूपान्तरण, व्यवस्थित सुधार र रणनीतिक साझेदारीमार्फत विकासको लागि वित्तीय स्रोत परिचालन, डिजिटल समावेशीकरण र युवाहरूको उद्यमशीलता प्रवर्द्धन, हिमताल विस्फोटको जोखिम न्यूनीकरण तथा संवेदनशील समुदायको सुरक्षा तथा इकोसकको ८०औं वार्षिकोत्सवको आयोजना हुने उनले स्पष्ट परे ।

बहुपक्षीयवादप्रति नेपालको दीर्घकालीन प्रतिबद्धता स्मरण गर्दै अध्यक्ष थापाले यस भूमिकालाई विगत चार दशकमा नेपालले पाएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा व्याख्या गरे ।