काठमाडौं । वर्षासँगै रुकुम पश्चिमस्थित ठूलो भेरी नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । रिम्नामा ठूलो भेरी नदी खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन १८ बिहान १ः४४ बजे । रुकुम पश्चिम जिल्लास्थित ठूलो भेरी नदी, रिम्ना जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहानसम्मै सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
डोल्पा जिल्लास्थित त्रिपुराकोट जल मापन केन्द्रमा पनि ठुली भेरी नदीको जल स्तर सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेको छ । आइतबार बिहान ४ः०५ बजे प्राप्त जानकारी अनुसार नदीको पानीको सतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नदी किनार आसपासका होचा भू–भागमा डुबानको सम्भावना रहन सक्ने भएकाले बिहानसम्म उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया