सन् २०३० सम्ममा वार्षिक पर्यटक संख्या १६ लाख पुग्ने अनुमान

सन् २०३० सम्ममा वार्षिक पर्यटक संख्या १६ लाख पुग्ने अनुमान



काठमाडौं । सरकारले सन् २०३० सम्ममा वार्षिक नेपाल घुम्न आउने पर्यटककाे संख्या १६ लाख हाराहारीमा पुग्ने अनुमान गरेको छ । पछिल्लो सयम पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरूले यस्तो अनुमान गरेका हुन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको जुलाईमा मात्रै ७० हजारभन्दा धेरै पर्यटककाे आवागमन भएको छ । यो संख्या अघिल्लो वर्षको जुलाईमा भन्दा बढेको हो ।

जुलाईमा सबैभन्दा धेरै भारतबाट २७ हजार १५२ जना अर्थात् ३८ दशमलव ७ प्रतिशत पर्यटक आएका छन् । यस्तै चीनबाट ६ हजार ८९०, अमेरिकाबाट ६ हजार ६२६, बङ्गलादेशबाट ४ हजार ४१३ र बेलायतबाट ३ हजार ५४७ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्ष नेपालमा १२ लाख पर्यटक भित्रिने अनुमान रहेको थपलियाले बताए । तर पर्यटकको सङ्ख्या बढाउन अन्तर्राष्ट्रिय उडान भने बढाउनैपर्ने उनको भनाइ छ ।

देशमा पर्यटकका लागि सुविधा दिनसक्ने क्षमता रहे पनि नेपाल ल्याउन सक्ने क्षमता पनि हुनुपर्ने भन्दै थपलियाले यसमा निजी क्षेत्रले पनि प्रयास गर्नुपर्ने बताए ।