बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । उनले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।

संविधानअनुसार राजीनामा दिनुपर्ने कारण नभए पनि पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनको भनाइ छ । उनले पार्टीलाई भाँडभैलोमा जान नदिन आफूले मार्गप्रशस्त गरेको बताए ।

“मैले संविधानतः राजीनामा गर्नुपर्ने कुनै कारण थिएन । म पाँच वर्षका लागि संसदीय दलको नेता निर्वाचित भएको थिएँ । दुई वर्षका लागि बनेको मुख्यमन्त्रीबाट अहिले नै राजीनामा दिने अवस्था किन आयो, इतिहासले समीक्षा गर्ने नै छ,” मुख्यमन्त्री लामाले भने ।

लामाले आजै प्रदेश प्रमुखलाई भेटेर राजीनामा दिन लागेको बताए ।

मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए । यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई छ । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।

उनी बागमती प्रदेशमा नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो मुख्यमन्त्री हुन् ।