काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा सोमबार सार्वजनिक गरेको छ ।
नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको संख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ ।
त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन् । यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।
२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र रहेको छ ।
यो वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेडेड भएका छन् । आंशिक तर्फ भने १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० विद्यार्थी ग्रेडेड भएका छन् ।
बोर्डका अनुसार नियमित तर्फ ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६१.१७ छ भने आंशिक तर्फको ग्रेडेड प्रतिशत ३६.४९ मात्र छ ।


प्रतिक्रिया