अमेरिका । यही अगष्ट १६-१७ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।
शनिबार टेक्सास इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेद्वारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरुको सामुदायिक सम्मान अरु उच्च बनाउन र अमेरिकास्थित नेपालीहरुको बौद्धिक, आर्थिक र व्यावसायिक क्षमतालाई नेपालसंग जोड्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको बताए।
हाल संघको उपाध्यक्ष पदमा कार्यरत खरेलले अमेरिकामा आएर धेरै नेपालीहरुले ‘अमेरिकी सपना’ साकार मात्रै पारेको नभै नेपालको उन्नतिमा पनि हातेमालो गरेको बताए । “आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आईटी) निर्यात ५१५ मिलियन अमेरिकी डलर पुगेको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो। आईटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो। त्यस्तै सन् २०२३ मा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका थिए,” खरेलले भने। उनले सन् २०१५ को नेपाल भूकम्पका बेला तथा कोभिड–१९ महामारीमा अमेरिकास्थित नेपाली समुदायले गरेको प्रयासमा सामेल हुन पाएको स्मरण पनि गरे।

२०२५-२७ का लागि अध्यक्ष पदमा निर्वाचित भएमा आफुले संस्थाभित्र एकता र समावेशितालाई प्रवर्द्धन गर्ने, युवा र महिलालाई प्रोत्साहन गर्ने, ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई साकार पार्न एनआरएन नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, अमेरिकास्थित नेपालीहरुको व्यवसायलाई प्रवर्द्धन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने जनाए। उनले नयाँ कार्यसमितिले एक छुट्टै टास्क फोर्स बनाएर नेपाली दूतावास, नास आइटी, नेपाल सरकार लगायत सबै साझेदारहरुसंगको पहलमा आउँदो पांच वर्षमा नेपालबाट अमेरिकामा गरिने आइटी निर्यात दोब्बर पार्ने उद्देश्यले कार्ययोजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । “यस बाहेक पर्यटन, लगानीका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्ने छु। त्यस्तै नेपाली बिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरुलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु,” उनले भने।
अध्यक्षका उम्मेदवार खरेलले आफु निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर पहिलो र दोस्रो पुस्ताका नेपालीहरू बीचको खाडललाई पुर्ने जनाए । उनले एनआरएनएभित्र पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्नका लागि पनि संस्थागत रुपमा पहल गर्ने बताए।
कार्यक्रममा टिम भानुको तर्फबाट एनसीसी अमेरिकाका उम्मेदवारहरु सरोज सिग्देल (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरु विष्णु बराल, बल राई, एकदेव शर्मा, सी के पराजुली, दुर्गा तिवारी (महिला उपाध्यक्ष), नवराज न्यौपाने (युवा उपाध्यक्ष), अनुप खनाल (महासचिव), बासुदेव भट्ट (सचिव खुला), लक्ष्मी थापा (महिला सचिव), महेन्द्र बस्नेत (कोषाध्यक्ष), मोहन कुसारी (सह कोषाध्यक्ष), बिकी थापा (युवा संयोजक), सरस्वती शर्मा (महिला संयोजक), आइसीसी सदस्यका उम्मेदवारहरु रिता देवी प्रधान तथा दुर्गा प्याकुरेल, लक्ष्मी खरेल (क्षेत्रीय संयोजक, वेस्ट), राज कुमार हमाल (क्षेत्रीय संयोजक, मिड वेस्ट), निश्चल चापागाईं (क्षेत्रीय संयोजक, साउथ), बोर्ड अफ डिरेक्टर्स (खुला) का उम्मेदवारहरु राम बहादुर देउवा, सुरेन्द्र कुमार अवस्थी, जीवन भण्डारी, गोविन्द सापकोटा, ध्रुव गौतम, हेम बहादुर ठकुल्ला, चन्द्रमणि पौडेल, धनन्जय भट्टराई, लता घिमिरे (महिला बीओडी), लक्ष्मी कार्की (महिला बीओडी) लगायतले आफै उपस्थित भइ वा लिखित सन्देश मार्फत उम्मेद्वारी घोषणा गरेका थिए।
कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टिका पौडेल, नेप्लिज सोसाइटी अफ टेक्सासका वरिष्ठ उपाध्यक्ष जगन भण्डारी, ब्लड डोनर्स अफ अमेरिकाका शिव काफ्ले, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, जसस टेक्सासका ज्ञानेन्द्र कार्की, विजय भुसाल लगायत समाजका अगुवाहरुले शुभकामना दिएका थिए। नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष दिनेश शर्माले रोचक ढंगले कार्यक्रमको संचालन गरेका थिए।


प्रतिक्रिया