दाङ, बाँके र बर्दियामा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह

दाङ, बाँके र बर्दियामा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह

चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं । दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।