बागमतीमा कांग्रेसबाट मन्त्री हुनेहरूको सूची तयार पार्न हम्मे

बागमतीमा कांग्रेसबाट मन्त्री हुनेहरूको सूची तयार पार्न हम्मे



काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदैछन् । दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका छ ।

मुख्यमन्त्री नियुक्त र शपथकाे तयारी चलिरहँदा कांग्रेसबाट मन्त्री हुनेहरूको सूची तयार पार्न हम्मे/हम्मे परेको छ ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अल्पमतमा परेपछि गरेको ३ मन्त्री नियुक्तिमा रोकिएको शपथमा उनीहरू मन्त्री कायम रहने भनेर सहमति भएको भनिए पनि उनीहरूको आज शपथबारे कांग्रेस निधोमा पुगेको छैन । मुख्यमन्त्री र ७ मन्त्रालय भागमा परेको कांग्रेसमा बहादुर सिंह लामाका ३ मन्त्री राख्दा अरू मन्त्रीका आकांक्षी रोकिने भएकाले टुंगोमा पुग्न नसकेको हो ।

दिउँसो ४ बजे हुने शपथमा मुख्यमन्त्री बानियाँ र धादिङका शिवराज अधिकारीको शपथ हुने पक्कापक्की हुँदा बहादुर सिंह लामाले नियुक्त गरेकामध्ये कुनै एक मन्त्री र अरू केही मन्त्री थप्ने या दुई जनाको मात्रै शपथ गर्ने भन्नेबारे कांग्रेसमा छलफल छलिरहेको छ ।

एमालेले भने ६ वटा मन्त्रालयमा जाने मन्त्रीहरूको टुंगो लगाएकाे छ । जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । उनै सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।