आवाजा (तुर्कमेनिस्तान) । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्टित विकासशील देशहरूले अवलम्बन गर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयको छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।
यस्तै, भूपरिवेष्टित विकासशील देशहरूका लागि व्यापार र वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयको छलफल सत्रको प्रधानमन्त्री ओलीले सह-अध्यक्षता गर्नेछन् । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक निमन्त्रणा गरेका थिए ।
लगभग ४४ करोड जनसंख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने यो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
ती मुलुकको अन्तर्राष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर हुने हुनाले अतिरिक्त सीमापार ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने सन्दर्भमा छलफल जारी छ ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् ।
भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नहुँदा अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग संघर्ष गरिरहेका छन् ।
विश्वव्यापी बजारबाट अलगिएको र पर्याप्त यातायात र खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिरहेको सन्दर्भमा यो तेस्रो सम्मेलन भइरहेको छ ।
सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ ।
भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३-५ मा अस्ट्रियाको भियनामा आयोजना भएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी र अवसरको सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्न र पारवहन यातायात प्रणालीको विषयमा छलफल गरेको थियो ।


प्रतिक्रिया