काठमाडौं। भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धरालीमा आएको भीषण बाढी र पहिरोमा परेका नेपालीहरूमध्ये हालसम्म कोही पनि नेपालीको मृत्यु नभएको भारतीय प्रहरीले जानकारी दिएको छ।
उत्तराखण्ड प्रहरीले घटनास्थलबाट दुईजनाको शव फेला परेको र ३७२ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। नेपाली दूतावासलाई दिएको जानकारीअनुसार, धराली घटनामा हालसम्म नेपाली नागरिक नरहेको बताइएको छ।
तर पौडी गढवाल जिल्लाको बागोडामा ६ साउनमा गएको अर्को बाढीपहिरोमा जाजरकोटका केही नेपाली नागरिकहरू हराइरहेका छन्। दूतावासले घाइते चार नेपालीमध्ये तीन जना घर फर्किएको र एक जनाको उपचार भइरहेको जनाएको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नं. २ का १३ भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन्। घटनामा जुम्ला र जाजरकोटका सात जनाको मृत्यु, छ जना घाइते र बर्दिया, जाजरकोटलगायत जिल्लाका २३ जना बेपत्ता भएको बताइएको छ।
नेपाली दूतावासले भारतीय निकाय र विदेश मन्त्रालयसँग समन्वय गर्दै हराइरहेका नेपालीहरूको खोज तथा उद्धारमा सक्रिय रहेको जनाएको छ।



प्रतिक्रिया