धनगढी । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका हुन् ।
अहिले स्थिति नियन्त्रण बाहिर रहेको सुरक्षा निकायले बताएकाे छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको हाे ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख
कैलाली कारागारमा झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् ।
शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।
शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।
झडपबारे छानविन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारमा भएको झडपको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।


प्रतिक्रिया