सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकोमा खुसी व्यक्त गर्दै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् । तराईमा आगामी वर्षदेखि आकाशे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको उनले बताएका छन् ।

वर्षासँगै सुक्खाले संकटग्रस्त मधेश प्रदेशमा रोपाइँ सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो । जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो ।’

प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको बताएका छन् ।

‘तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ । २३ साउनसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । र, केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ,’ उनले भनेका छन् ।