अझै छिर्न सकेन कैलाली कारागारभित्र प्रहरी

अझै छिर्न सकेन कैलाली कारागारभित्र प्रहरी



काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरी अझै पनि कारागार प्रवेश गर्न सकेको छैन । कारागार कैदीबन्दीको नियन्त्रणमा छ ।

तर, अहिले कारागारको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएकाे छ । मानव अधिकारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयको टोली कारागार प्रवेश गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

प्रहरी र कैदीबन्दीबीच कुराकानी पनि भइसकेको छ । मानव अधिकार आयोगको टोली निरीक्षणका लागि जाँदै छ । अहिलेको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

गत शुक्रबार ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।