धनगढी । कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् ।
कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् ।
आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।
गत शुक्रबार ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।


प्रतिक्रिया