काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको निवेदनमा आफूले बिगो बराबरको रकम शुभचिन्तक र शुभेच्छुकहरूबाट प्राप्त गरेको बताएका छन् ।
हाल पुर्पक्षको लागि कारागार कार्यालय रूपन्देहीमा रहेका उनले आफूलाई थुना बाहिरै राखेर मुद्दा चलाइ पाऊँ भनेर निवेदन दिएका हुन् ।
निवेदन दिँदा लामिछानेले आफ्नो दायित्वमा पर्न आउने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी समेत बुझाएका छन्। उक्त निवेदनमा सुनुवाइ भने भइसकेको छैन ।
यस निवेदनमा उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा नक्कली ऋणको कागज खडा गरी रकम लिएको र त्यसअनुसार बिगो कायम गरेको उल्लेख गरेका छन् ।
आफूमाथि प्रतिशोध लिँदा बचतकर्ताले एक रुपैयाँसमेत नपाउने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘प्रस्तुत मुद्दामा मागदाबी गरिएको भनिएको रकम प्रमाण तथ्य र जाहेरवालाहरूको निवेदनमै उल्लेख गरेको रकम बीच कुनै तारतम्य मिल्दैन तथापि अभियोग पत्रमा निर्धारण गरेबमोजिम मेरो हकमा मागदाबी गरिएको भनिएको रकम दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ मेरा शुभचिन्तक आफन्तहरु मार्फत प्राप्त हुन आएको जानकारी गराउँदछु,’ निवेदनमा भनिएको छ, ‘यो रकमलाई देखाएर ममाथि भइरहेको राजनीतिक षड्यन्त्रलाई सफल हुन नदिन मेरा शुभचिन्तक र शुभेच्छुकहरू अग्रिम रुपमै ममाथि पारिएको भनिएको बिगो बराबरको रकम जम्मा गरिदिन तयार हुनुहुन्छ ।’
यो रकम सहकारी बचतकर्ताहरूका लागि आशाको किरण हुने र सरकारलाई सकारात्मक दबाब समेत हुने बताएका छन् । निवेदन झुट्टा आरोप र अपराधको स्विकारोक्ति नभएको पनि उनले बताएका छन् ।
‘मेरो यो निवेदन, म माथि लागेको झुट्टा आरोप र अपराधको स्वीकारोक्ति कदापी होइन,’ निवेदनमा भनिएको छ ।


प्रतिक्रिया