मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र



खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।