वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौं : सांसद कार्की

वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौं : सांसद कार्की



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीव्र पारिनुपर्ने बताएका छन् ।

सोमबार (साउन २६) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा त्यससम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको पूर्वाधार निर्माणका निम्ति निजी क्षेत्रको समेत सहभागिता हुने गरी ल्याइएको कानुन छिटो बनाइनुपर्नेमा जोड दिए । सरकारले वैकल्पिक विकासको योजना अघि बढाउन ढिलाइ गर्न नहुने उनले बताए ।

“नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ,” उनले भने, “अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरू अघि बढाउनुपर्छ ।”

सांसद कार्कीका अनुसार, हाल देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्त्वपूर्ण हुनेछ । विधेयकमा धेरै विषय स्पष्ट रहेको उनले बताए ।