काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अहिलेकै अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्रदान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आफ्ना मागहरूमा तत्काल सहमति नजुटेको भन्दै विश्वासको मतबारे निर्णयमा पुग्न नसकेको बताएका हुन् ।
आफ्ना पक्षका १४ जना सांसदसँगको छलफल काठमाडौँमा जारी रहेको र विश्वासको मत प्रदान गर्ने विषयमा निचोडमा पुग्न बाँकी रहेको उनको भनाई छ । छलफल निरन्तर जारी रहेको र अझै केही समय लाग्ने उनले बताए ।
छलफलको निष्कर्षअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने तथा अन्य कुनै विकल्पमा अघि बढ्ने उनको भनाइ छ ।
निवर्तमान मुख्यमन्त्री लामा पक्षले आफ्ना तीन जना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आएको छ ।
उक्त विषयमा लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ । देउवाबाट माग सम्बोधन हुने आश्वासन पाए पनि उनीहरू काठमाडौँमा छलफलमा रहेका हुन् ।
मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका निम्ति अपराह्न ४ बजे बस्ने गरी बैठक डाकिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
बैठकको कार्यसूचीमा विश्वासको मतबाहेक अरू कुनै विषय छैन । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ ।
गते साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको आवश्यकता पर्छ ।


प्रतिक्रिया