नेप्से एआई स्क्याम: २८ लाख रकम हिनामिना, अनुसन्धानमा सीआईबी

नेप्से एआई स्क्याम: २८ लाख रकम हिनामिना, अनुसन्धानमा सीआईबी



काठमाडौं । सीआईबीले ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गरी २८ लाख रुपैयाँ हिनामिना भएको घटनामा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। ‘नेप्से एआई’ नामको मोबाइल एप प्रयोग नगर्न पनि चेतावनी दिएको छ।

सीआईबीका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमार्फत उक्त एप डाउनलोड गर्न प्रलोभन देखाइने र इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको रकम अन्यत्र पठाइने तथा मोबाइलको सम्पूर्ण डाटा मेटाइने घटनाहरू बढिरहेका छन्।

हालै एक व्यक्तिको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ यसै शैलीमा चोरी भएको छ।

प्रहरीले अपरिचित लिंक वा एप नखोल्न, सतर्क रहन र यस्तो घटना भए तत्काल बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोलाई जानकारी दिन आग्रह गरेको छ।