आगामी २४ घण्टा मनसुन सक्रिय, केहि स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

आगामी २४ घण्टा मनसुन सक्रिय, केहि स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको बताएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ । बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

बुधबार देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पूर्णतया बदली रहनेछ। बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।