काठमाडौं । पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।
यादव नियुक्ति भएको २०६६ साल जेठ २४ देखि २०७९ साल साउन २९ गतेसम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा यादवको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ ९१ पैसा देखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसमा ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
अख्तियारले स्रोत पुष्टि नभएको रकम बराबरको बिगो मागदाबी कायम गर्दै मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनार्थ यादवकी श्रीमती आशाकुमारीलाई पनि प्रतिवादी बनाएको छ ।


प्रतिक्रिया