बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरीवानाको फैसला

बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरीवानाको फैसला



काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरीवानाको फैसला सुनाइएको छ ।

विशेष अदालतले हिजो थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहरसहित सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरेर हिजो सजाय निर्धारण गरेको हो ।

प्रतिवादीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको अदालतको ठहर छ । विशेष अदालतले यसअघि मेयर थापालाई गैरकानूनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरीवाना हुने फैसला सुनाएको थियो ।

उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाइसकेका छन् ।