बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।