काठमाडौं । अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
अलास्कामा भएको वार्ताबारे ट्रम्पले युरोपेली नेताहरूसँग कुराकानी गरेपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुपर्ने बताएका हुन् ।
युरोपेली संघका अध्यक्ष उर्सुला भ्यान देर, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्स्लर फ्रेडरिक मर्ज, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले संयुक्त विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासलाई स्वागत गरेका छन् ।
‘राष्ट्रपति ट्रम्पले युक्रेनमा हत्या रोक्ने, रूसी आक्रमण अन्त्य गर्ने र न्यायपूर्ण तथा दिगो शान्ति कायम गर्ने प्रयास स्वागतयोग्य छ,’ उनले भनेका छन् । उनीहरूले ट्रम्पकै भनाइलाई विज्ञप्तीमा उल्लेख गरेर कुनै सम्झौता नभएसम्म सम्झौता नहुने बताएका छन् ।
‘त्यसकारण अबको कदम राष्ट्रपति जेलेन्स्कीलाई पनि वार्तामा समावेश गर्नुपर्नेछ,’ विज्ञप्ती उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ ।
युरोपेली नेताहरूले जेलेन्स्की र ट्रम्पसँगै त्रिपक्षीय सम्मेलन गर्न तयार रहेको पनि बताएका छन् । उनीहरूले युक्रेनको सुरक्षा ज्ञारेन्टीमा पनि जोड दिएका छन् ।


प्रतिक्रिया