विपिन जोशीको शीघ्र रिहाइ सरकारकाे प्राथमिकता : प्रधानमन्त्री ओली

विपिन जोशीको शीघ्र रिहाइ सरकारकाे प्राथमिकता : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन् । हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा उनलाई खोज्दै इसराइल नै पुगेका छन् ।

यही सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका हुन् ।

‘इसराइलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ,’ उनले भनेका छन् ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘इसराइलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद! विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीको भनाइ छ ।