मलाई कुनै गुट चलाउन आउँदैन, एमालेको हितमा लाग्छु : पूर्वराष्ट्रपति भण्डारी

मलाई कुनै गुट चलाउन आउँदैन, एमालेको हितमा लाग्छु : पूर्वराष्ट्रपति भण्डारी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा भण्डारीले आफूले कुनै गुट नचलाएको स्पष्ट पारेकी छिन् ।

पत्रकारले सोधेका प्रश्नको जवाफमा उनले भनिन्, ‘म एमाले हो, एमालेको हितमा लाग्छु ।’ भण्डारीले आफू एमालेबाटै राष्ट्रपति बनेको उल्लेख गर्दै पदबाट फर्किएपछि पनि एमालेमै रहेकी दाबी गरिन् । उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’

भण्डारीले आफू एमालेकै कार्यकर्ता भएकाले सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको समेत बताएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राखिन् ।

उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो । राष्ट्रपति एउटा पद हो । यो आवधिक हुन्छ । जोसुकै पनि जनताको स-सहभागिताले निर्वाचित भएर आउन सक्छन् । उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन् । पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन,’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि । कमिटीमा बस्नेहरूलाई थाहा होला नि ।’

उनले थपिन्, ‘म ४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको । विराटनगरमै मैले शपथ खाएको ।’ राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन् ।

आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन् । ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन् ।

‘गुट चलाएको’ आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन् । ‘मलाई गुट चलाउन आउँदै आउँदैन,’ उनले भनिन् । मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले ‘पार्टीका नेताहरूलाई सोध्न’ आग्रह गरिन् ।

हालै कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनले बताइन् । ‘शेखर कोइरालासँग मेरो भेट भएको हो । अब उहाँ पनि मोरङ विराटनगरकै हो । हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो । त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ’, उनले भनिन् ।