काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो साेको उद्घाटन गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन’, उनले भने ।
उनले उत्तर र दक्षिणमा नयाँ मार्ग बनेको र अन्तर्राष्ट्रिय विमास्थल थपेर विकास र समृद्धिमा अगाडि बढेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रूपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’


प्रतिक्रिया