कांग्रेसले मात्रै देशका चुनौती समाधान गर्न सक्छ : गगन थापा

कांग्रेसले मात्रै देशका चुनौती समाधान गर्न सक्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आएका चुनौतीहरू समाधान गर्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरेका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

उनले लोकतान्त्रिक व्यवस्थामा संख्याको आधारमा निर्णय लिन सकिने भए पनि, त्यसले जे पनि गर्न पाइने अर्थ नहुने स्पष्ट पारे।
थापाले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ‘।

थापाले पार्टी र समाजले स्वीकार नगरेको निर्णयले वैधता पाउन नसक्ने बताएका छन्।