काठमाडौं । भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।
त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको भन्दै सरकारलाई ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले चीन र भारतले सीमा व्यापारका लागि नेपालको भूमि लिपुलेख प्रयोग गर्नेगरी गरेको सहमतिको विरोधमा नेपालस्थित भारतीय दूतावासको कार्यालय अगाडि विभिन्न नाराबाजीसहित मसाल जुलुस गरेका थिए ।


प्रतिक्रिया